इलाम, । इलाम–२ मा भएको उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । तीनवटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।
मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ सय ५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक सय १५ मत प्राप्त गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारले आठ सय नौ मत प्राप्त गर्दा एमाले उम्मेदवारले चार सय ५७ मत प्राप्त गरेका थिए । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९.७९ प्रतिशत मत खसेको थियो । एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
