ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । “हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्यौं, राजनीतिक परिवर्तनका लागि काम गर्यौं, अब त्यो अवस्था छैन, अहिले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको छ । प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुनेगरी सबैको आर्थिक समृद्धि गराउनतर्फ लाग्नुपर्छ,” उनले भने ।
जिम्मेवारी र दायित्वबाट पन्छिएर आरोपप्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक–सामाजिक रुपान्तरण गर्न लाग्नुपर्ने बताए । “युवा बेरोजगारी समस्याबाट पीडित छन्, दैनिक एक हजार सात सयदेखि दुई हजार पाँच सयको सङ्ख्यामा युवा देशबाट बाहिरिने गरेको तथ्याङ्क छ । विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ, शिक्षा, स्वास्थ, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको छ,” उनले भने ।
उपप्रधानमन्त्री सिंहले सत्य र असत्य कुरा छुट्याउन सक्नुपर्छ भन्दै नकारात्मक मानसिकतामा आधारित रहेर लेखिएको कुरालाई पनि सबै सत्य नै हो भनेर त्यसैलाई सही हो भन्ने आधारमा हेर्न सकिँदैन भने । उनले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरु सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए ।
“राजनीतिक परिवर्तनमा मात्रै हैन, आर्थिक–सामाजिक परिवर्तनमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । अवस्था परिवर्तन गर्न युवाले जिम्मेवारी बोध गर्दै काम गर्नुपर्छ”, उनले भने । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जालद्वारा १२ बुँदे माग समेटेर जारी गरिएको घोषणापत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
