बर्दिवाससम्म रेलसेवा ल्याउन पहल भइरहेको छ : यातायातमन्त्री दाहाल

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन् ।

जनकपुरधामको रेल्वे स्टेसनमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले नेपाल रेल्वेलाई समयसापेक्ष सुविधा सम्पन्न बनाउन र मुनाफामा पु¥याउनका लागि नेपाल सरकारले विभिन्न योजना ल्याउन लागेको जानकारी दिए । उनले भने, “नेपाल रेल्वेको विभिन्न स्थानमा वासिङ सेन्टर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ, वासिङ सेन्टर निर्माणसँगै केही हदसम्म घाटामा कमी आउँछ, आगामी दिनमा कार्गो रेलसेवा समेत सञ्चालन गर्ने हाम्रो तयारी छ ।”

घाटामै नेपाल रेल्वे सञ्चालनमा रहँदै आएको समयमा मन्त्री दाहालले नेपाल रेल्वेलाई मुनाफामा लैजान सरकार गम्भीर रहेको बताए । निर्माण भएका तथा निर्माणाधीन सडक सञ्जालका साथै नेपाल रेल्वेको निरीक्षणका लागि जनकपुरधाम आएका मन्त्री दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने प्रयास भइरहेको स्पष्ट पारे ।

जयनगर–जनकपुर हुँदै महोत्तरीको बिजलपुरा पुग्ने रेललाई बर्दिबाससम्म ल्याउन पहल भइरहेको मन्त्री दाहालको भनाइ थियो । मुआब्जा विवादका कारण बर्दिवाससम्म रेलसेवा सञ्चालनमा ढिलाइ भइरहेको उनले बताए । रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वेमा कर्मचारी अभाव हटाउन छिट्टै स्थायी कर्मचारी भर्ना गर्ने, स्टेसनहरुको क्षमता विस्तार गर्ने, पूर्वाधार निर्माण गर्ने तथा जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेकोे बताए ।

यसैबीच मन्त्री दाहालले नेपाल रेल्वे सेवा (कम्पनीं को काम कारबाहीको सम्बन्धमा जनकपुरधाममा स्थलगत निरीक्षण तथा अनुगमन समेत गरे । उनले जनकपुरधाम रेल्वे स्टेसनमा रेल्वेका महाप्रबन्धक झा लगायतका पदाधिकारीसँग आवश्यक जानकारी लिनुका साथै रेल्वेको विकास निर्माणबारे छलफल गरे । उनले जनकपुरधाम रेल्वे स्टेसनबाट रेल चढेर निरीक्षण गर्दै भारतको जयनगरसम्म पुगेर जानकारी लिए ।

नेपाल रेल्वे कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा सात करोड ७५ लाखभन्दा बढी कारोबार गरेको जनाएको छ । गत वर्ष १५ लाखभन्दा बढी यात्रुलाई सवारी सेवा प्रदान गरिएको थियो । भारतीय सीमावर्ती जयनगरदेखि मधेस प्रदेशको राजधानी जनकपुर हुँदै महोत्तरीको भङ्गहासम्म हाल सञ्चालन हुँदै आएको रेलसेवाबाट गत आवमा नौ लाख नेपाली र ६ लाखभन्दा बढी भारतीय नागरिकले सेवा लिएका हुन् ।

 


Recommended For You