काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापासहितको टोलीले शुक्रबार रानीदेवी माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा ‘पुस्तकरहित शुक्रबार’ (बुक–फ्री फ्राइडे) कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत अनुगमन गरेको छ। अनुगमनका क्रममा विद्यालयको समग्र सुधार देखिएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा उपप्रमुख डंगोलले विद्यार्थीहरूसँग भविष्यका लक्ष्य, रुचिका विषय, बन्न चाहेको व्यक्तित्व, बाद्यवादनमा सहभागिता आफ्नै इच्छा हो वा सुझावमा आएको हो, प्रेरणा कसबाट पाएको हो जस्ता प्रश्न गर्दै उनीहरूको बालसुलभ मनोभावना बुझ्ने प्रयास गर्नुभयो। विद्यालय सुधारका लागि गरिएको मिहिनेतको प्रशंसा गर्दै उहाँले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीलाई धन्यवाद दिनुभयो।
वडा अध्यक्ष प्रेम थापाले विद्यार्थी संख्या बढेकाले विद्यालयमा दुई तला थप गर्न वडाबाट ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रशन्न नरसिंह राणाले क्षमता भन्दा बढी विद्यार्थी भर्ना हुन आएकाले केहीलाई फिर्ता पठाउनुपरेको बताउनुभयो।
महानगर शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले पुस्तकरहित शुक्रबार कार्यक्रमलाई यस वर्ष अझ प्रभावकारी र व्यवस्थित बनाउन विशेष प्रयास भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले विद्यालय पहिलोपटक एसईई परीक्षामा सहभागी हुने भएकाले नतिजा उत्कृष्ट बनाउन विशेष तयारी गरिएको जानकारी दिनुभयो। यसका लागि २५ विद्यार्थीलाई ५ शिक्षकमार्फत जिम्मेवारी बाँडिएको छ। प्रत्येक शिक्षकले विद्यार्थीको घर–परिवार, अध्ययनका कमजोरी तथा समग्र अवस्थाबारे नजिकबाट बुझेर सुधारका उपायमा कार्यरत रहेको उहाँले बताउनुभयो।
अनुगमन टोलीमा ‘गरी खाने शिक्षा – महानगरको इच्छा’ कार्यक्रमका फोकल पर्सन वरिष्ठ शाखा अधिकृत सुशील सुवेदी, विज्ञ सल्लाहकार सस्मित पोखरेल, विद्यालय स्रोत शिक्षक सुशील खनाललगायतको सहभागिता थियो। टोलीले कक्षा ईसीडीदेखि ३ सम्म एकीकृत पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको पाएको छ। पुस्तकरहित शुक्रबार कार्यक्रमलाई शिक्षण–सिकाइ गतिविधि अझ आकर्षक र फरक बनाउँदै लैजान सुझाव दिइएको छ।
सिर्जनात्मक सिकाइ कार्यक्रम (कक्षा ४-८) व्यक्ति तथा संस्थाको सहयोगमा सञ्चालित रहे पनि निरन्तरता र सही विधिबाट सञ्चालन भएको सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। कक्षा ९ मा सञ्चालन भइरहेको ‘शिक्षामा सीप’ कार्यक्रम प्रारम्भिक चरणमै प्रभावकारी देखिए पनि कक्षाकोठासँगै चौर वा भवनको छतमा पनि कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव राखिएको छ।
कक्षा १० का लागि नतिजा सुधार कार्यक्रम नियमित कक्षामा सकारात्मक देखिए पनि विद्यार्थीको आवश्यकता र लचकता अनुसार छुट्टै विधिको समायोजन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सुन्दर विद्यालय परियोजनान्तर्गत कक्षाकोठा, चमेनागृह, शौचालय, खेलमैदान, खानेपानी तथा बाह्य सरसफाइको अवस्था राम्रो देखिए पनि किचन वरपरको सरसफाइ अझ सुधार गर्नुपर्ने सुझाव टोलीले दिएको छ।