काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स संचालन गर्ने विषयमा सम्झौता भएको छ । २०७९ पुस १ बाट सुरु हुने सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ । शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाइ अध्यापन शास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुसरण गरेर कोर्स संचालन गर्नेछ ।
महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ/संस्थाहरूमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कोसेढुङ्गा हुने दाबी गरिन् । नेपालमा पहिलोपटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्स सुरु गर्न पाउँदा खुसी लागेको बताइन् । सुब्बाले यसअघि नेपालबाट सहकारीको डिप्लोमा गर्न भारत जानुपर्ने बाध्यता भएको बताइन् ।
कार्यक्रकममा बोल्दै डिन बिडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्स संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे। विश्वविद्यालयले यसरी सम्झौता गरेर कोर्स संचालन गरेको पहिलोपटक भएको बताए । केयुका उद्यमशीलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समूह कार्य, र इन्टरसिसपलगायत प्रयोगात्मक विधिबाट सो कोर्स अध्यापन गराइने बताए ।
पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्स डिजाइन गर्नेदेखि गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन अनुसन्धान कार्यसमेत सम्पन्न गरेको छ ।
