महोत्तरी । नेपाली साहित्यलाई फराकिलो बनाउने उद्देश्यले महोत्तरीमा विश्व नेपाली साहित्य महासंघ गठन भएको छ । साहित्यप्रेमी रचनाकारलाई समेटेर उद्धव अविचलनको नेतृत्वमा सात सदस्यीय महासंघ शाखा गठन भएको हो । बर्दिबासस्थित गौरीशंकर होटेलमा भएको कार्यक्रममा अध्यक्ष अविचलनसहित उपाध्यक्षमा शान्ता काफ्ले, सचिवमा कमल साह, कोषाध्यक्षमा शत्रुधन महतो र सदस्यहरूमा दीपक साह, रविन यादव, सुमन सारंगी रहेको नयाँ कमिटी गठन गरिएको हो ।
नवगठित समितिले नवसाहित्यकार र पुराना साहित्यकारहरूको खोजी गरी महोत्तरीलाई साहित्यिक जिल्लाको रूपमा पहिचान गराउने प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले विश्वास व्यक्त गरे । नवगठित समितिका अध्यक्ष उद्धव अविचलनले महोत्तरीमा अनौपचारिक प्रस्फुटित रचनालाई पहिचान गर्ने प्रतिबद्धता जनाए ।
विश्व नेपाली साहित्य महासंघ मधेस प्रदेशका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, मिथिला साहित्य समाजका प्रमुख राकेशकुमार झा, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे, निवर्तमान उपाध्यक्ष जमुना पोख्रेल, सर्लाही साहित्य समाजका आजीवन सदस्य कुमार दाहाललगायतको बाक्लै उपस्थिति थियो ।
