कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहा गर्न ८ विद्यार्थी संगठनको माग

धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई नि:सर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् ।

‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनमा प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरूलाई नि:सर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारबाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’

विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।


Recommended For You