शिक्षक माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

महोत्तरी । गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सुरु भएदेखि अहिलेसम्म शिक्षक नभएको भन्दै आन्दोलन गरेका छन् । शिक्षक नहुँदा नियमित पठनपाठन हुन सकेको छैन । विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न नगरप्रमुखसँग माग गरेका छन् । तर, समस्या समाधानको सट्टा नगरप्रमुख महतोले प्रहरी लगाएर विद्यार्थीलाई धरपकड र प्रदर्शनमा सम्लग्नलाई सामूहिक निष्कासन गरे ।

विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्कासन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरंकुशताको आरोप लगाएका छन् । विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन,’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् । शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झुटो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्‍यो । हाम्रो भविष्यमाथि खेलबाड गरे,’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनुपर्ने हाम्रो माग हो ।’

प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्कासन गरिएको बताए । यता, शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पूर्णरूपमा पूर्वाग्राही र निरंंकुशताको पराकाष्ठा भएको बताए । मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् । अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए ।नगरप्रमुखले भने विद्यार्थीहरूले अनुशासन तोडेको हुनाले एक साताका लागि निष्कासन गरेर कारबाही गरेको बताए ।


Recommended For You