पूर्वविद्यार्थीद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीले दिक्तेल क्याम्पसलाई पुस्तक सहयोग गरेका छन् । डा. धनप्रसाद सुवेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई २४ हजार ६ सय ४१ रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको हो । विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाललाई मंगलबार हस्तान्तरण गरे। विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रूपमा उपयोग हुने पुस्तकहरू संकलन गरी प्रदान गरेको मञ्चले जनाएको छ ।

मञ्चले साझा कथा, नासो, ऋतुविचार, राजेश्वरी, सुलोचना, नरेन्द्र दाइ, लक्ष्मी निबन्ध संग्रह, भाषा पाठ्याक्रम, प्रयोगित भाषा विज्ञानलगायत पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा. विष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाएको मञ्चका उपाध्यक्ष राईले बताए । क्याम्पसलाई पुस्तक उपलब्ध गराएकामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजाल र क्याम्पस प्रमुख हीराकुमार राईले धन्यवाद ज्ञापन गरेका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्राध्यपक, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो ।

०३७ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पसमा ०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङबाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । हाल साँढे आठ सय विद्यार्थी अध्ययनरत क्यम्पसलाई क्युएएको प्रकृयामा अघि बढाइसकिएको छ ।

 


Recommended For You