महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत् रहँदा छोरीलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेस प्रदेशका गाउँहरू अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिको जिम्मेवारीलाई अभिभावकले महसुस गरेको देखिन्छ । पत्रकार राजकरण महतोले खिचेको एनिससी तालिममा सहभागी विद्यालय पढाएर छोरीहरूको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेसमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।
तस्बिरमा अधिकांश छोरीहरूले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरूको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ । तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेखेका छन्, ‘महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरूमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’
तस्बिरबाट प्राप्त पुरस्कारको हकदार मधेसका सबै अभिभावक र छोरीहरू भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’मधेसमा छोरीहरू दाइजो र घरेलु हिंसाको चरम सिकार हुनुपरेको छ । पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो । शिक्षित छोरीले आफूमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाँै घटनाहरूले छोरीहरू अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।
