वैशाखमा स्थानीय तहको चुनाव गर्न गठबन्धनबीच सहमति

सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य तथा मिति तय गर्ने लगायत विषयका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

निर्वाचनको संवैधानिक र कानूनी पाटो बुझ्न आयोगमा पुगेका महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि आयोगका पदाधिकारीहरुले स्थानीय निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए ।

यद्यपि सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।


Recommended For You