बेनी । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गराए । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका थिए । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकका रूपमा नियुक्त गरेका थिए। जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाइलाई बिट मार्ने सोच बनाए । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताए ।
आलमले पढाउन थालेपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । २०५७ देखि विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरे । उनी आगामी ०८० असोज ३ देखि अनिवार्य अवकाश लिँदै छन् । आलमको योगदानको कदर गर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् । विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरे । “विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेसाका माध्यमबाट आलमले पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो”, अध्यक्ष छन्त्यालले भने ।
सम्मान ग्रहणपश्चात् प्रअ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दु:ख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताए । “वर्षौंसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गथ्र्यांै, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दु:ख थियो, विद्यार्थीर अभिभावकको स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन”, आलमले भने । विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उनले अनुभव सुनाए । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठूलो योगदान पुगेको उनको भनाइ छ ।
विद्यालयमा निजी शिक्षकको रूपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुन: विद्यालयमै फर्काएका थिए । २०५३ सालमा परीक्षा दिएर ०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम ०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए । आलमको परिवार भने रौटहटमै बस्दै आएको छ ।
