कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
सबै सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आलोपालो प्रणालीबाट सञ्चालन गर्ने निर्णय भएको छ । त्यसको आवश्यक प्रबन्ध सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्नेछ ।
ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले संक्रमणको दर बढ्दै गएपछि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताए । ‘उपत्यका सबैभन्दा बढी जोखिममा परेको देखिन्छ, त्यसलाई समेत मध्यनजर गरेर जोरबिजोर प्रणाली जारी गरिएको हो,’ उनले भने, ‘सार्वजनिक सेवा लिन, दैनिक उपभोग्य वस्तु किनमेल गर्दा पनि अब अनिवार्य खोप कार्ड लिएर मात्रै जानुपर्नेछ ।’