हुम्लामा एसइई दिने विद्यार्थी बढे

हुम्ला । शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् ।जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिए ।

हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा दुई सय ५६ जना र मानसरोवर माविमा एक सय ८० जना परीक्षार्थी सहभागी छन् । त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा दुई सय ५३ जना र कोटमावि रोडिकोटमा एक सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा एक सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा दुई सय ४० जना परीक्षार्थी सहभागी छन् ।

हुम्लाबाट छ सय ६० जना छात्र र पाँच सय ७४ जना छात्राले एसइई परीक्षा दिँदै छन् । जसमा साधारणतर्फ एक हजार एक सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेड वृद्धितर्फ छ जना परीक्षार्थी छन् । गत वर्ष हुम्लाबाट एक हजार १३६ जना परीक्षार्थीले एसइई दिएका थिए ।


Recommended For You