वालेन्द्र साहले लिए सपथ

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर वालेन्द्र साह र उप-मेयर सुनीता डङ्गोल एवं वडाध्यक्ष तथा सदस्यहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । मेयर वालेन्द्र साहलाई काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ ग्रहण गराएका थिए भने उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई मेयर वालेन्द्र साहले सपथ ग्रहण गराएका थिए ।

राष्ट्रिय सभागृहमा सपथ ग्रहण गरेका नवनिर्वाचित मेयर वालेन्द्र साहले आजै माहानगरपालिकाको कार्यालय पुगेर पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मेयर वालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।

काठमाडौँको फोहोर व्यवस्थापन नभएसम्म अबिर, माला नलगाउने प्रतिबद्धता व्यक्त गरेका मेयर वालेन्द्र साहले पहिलो काम नै फोहोर मैला व्यवस्थापन हो । फोहोरमैला व्यवस्थापनको काम नसकेसम्म अरू कुनै काम नगर्ने बताएका छन् । उनले हामीले गरेको पापको फल सिसडोलवासीले भाेगिरहेको हुँदा उहाँहरूलाई स्वच्छ वातावरण प्रदान गर्नु आफ्नो पहिलो कर्तव्य रहेको बताएका छन् ।


Recommended For You