जुम्ला । बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा जुम्ला प्रशासनको पहलमा जुम्लामा कायम गरिएको हो । हवाइजाहजले नियमित उडान नभर्ने र सडक अवरुद्ध भएपछि २७ जना विद्यार्थी परीक्षा केन्द्रमा पुग्न सकेका थिएनन् ।
त्यस्तै, कक्षा १२ का २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्ला नै बनाई परीक्षा दिने व्यवस्था मिलाइएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।
परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । विपत्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा केन्द्र सार्न स्वीकृति दिएको रिजालले बताइन् । उनीहरूको परीक्षा चन्दननाथ नमुना विद्यालयमा हुनेछ ।
परीक्षा दिन पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिस्ट गरिएको थियो । जसमा लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।