काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ ओैँ जन्मजयन्तीको अवसरमा विविध पक्षलाई समेट्दै सप्ताहव्यापी कार्यक्रम गरेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले बुद्धको २५६७ ओैँ जन्मजयन्ती मनाइरहेको छ ।
नेपालमा मात्र नभएर विश्वमा नै शान्ति,अहिंसा, मैत्री र महाकरूणाका प्रतीक गौतम बुद्धले देखाएको मार्गमा लाग्न प्रेरित गर्ने कार्यक्रम बौद्धनाथ क्षेत्र विकास समितिले गरिरहेको छ । बुद्धका उपदेशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न देशका राजदूतहरूलाई पनि सप्ताहव्यापी कार्यक्रममा आमन्त्रण गरी कार्यक्रम गरेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए ।
लामाले, ”विश्व सम्पदा सूचिमा परेको बौद्धनाथ क्षेत्रको प्रचारप्रसार त छ तर व्यवस्थित रूपमा यस पावन भूमिको महत्वका साथै यसका ऐतिहासिक तथा पुरातात्विक कुरा पनि विश्वसमक्ष पुर्याउनु पर्ने बताएका छन् ।
अन्तर्विद्यालय चित्रकला प्रतियोगिता
बुद्ध र बौद्धनाथको मूल मर्मलाई कलाका रूपमा उतार्न श्री बौद्धनाथ क्षेत्र विकास समितिले यही वैशाख २० गते अन्तर्विद्यालय चित्रकला प्रतियोगिता गरेको छ । एकातिर विद्यार्थी भाइबहिनीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन होस् अर्कातिर बाल्यकालमै बुद्ध र बौद्धनाथ सम्बन्धी ज्ञान र चेतना कलामार्फत् उतार्न सकून् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिता गरेको अध्यक्ष लामाले बताएका थिए । प्रतियोगिता श्री बौद्धनाथ स्तुपा परिसरमा नै गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट पाँच विद्यार्थीलाई प्रमुख अतिथि नेपालका लागि अस्ट्रेलियन राजदूत फेलोसिट भल्कको हातबाट मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागी सबै विद्यालय र विद्यार्थीलाई पनि प्रमाणपत्र दिइएको थियो ।
विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेपछि प्रमुख अतिथि राजदूत फेलोसिट भल्कले यस्तो ऐतिहासिक ठाउँमा आएर विद्यार्थीहरूलाई उत्प्रेरित गर्न पाउँदा खुसी लागेको बताइन् । उनले श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यवाद दिँदै रचनात्मक कामका लागि आफू सधैँ सहयात्रा गर्ने पनि बताइन् ।

