काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा रहेको सत्तलको आज संघीय संसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक भवनका ५ ठाउँमा जग राखेर शिलान्यास गर्नुभएको हो । सत्तल पुनःनिर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको छ ।
तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये पनि विहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार विहीबारको दिन पारेर आज शिलान्यास गरिएको हो ।
