कीर्तिपुर । चन्द्रागिरि नगरपालिका– ११ स्थित सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा विद्यार्थीले कम्तीमा एउटा किताब विद्यालयको पुस्तकालयमा उपलब्ध गराउनुपर्ने भएको छ । आइतबार सम्पन्न विद्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा प्रारम्भ गरिएको किताब उपहारको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर महर्जनले गरेका थिए । सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका उनले तिथिअनुसार आइतबार आफ्नो जन्मदिवस परेको भन्दै स्थास्थ्यसम्बन्धी एक पुस्तक विद्यालयका प्रधानाध्यापक वसन्तराज खत्रीलाई हस्तान्तरण गरे । प्रधानाध्यापक खत्रीले पठन संस्कृतिलाई बढवा दिन र जन्मोत्सवलाई कुनै एक राम्रो कामका रूपमा लिने बानी विद्यार्थीमा बस्दै जाओस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए ।
उक्त विद्यालयले करिब पाँच वर्षअघि तीन लाख सरकारी अनुदानको भरमा पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालयमा विभिन्न विषयका सात हजारभन्दा बढी पुस्तक छन् । विद्यालयले विद्यार्थीलाई पुस्तकालयको उपयोग गर्ने बानी लगाउन केही वर्ष अघिदेखि विभिन्न प्रयास गर्दे आएको छ । यसै क्रममा केही वर्षअघि कक्षगत तालिकामै पुस्तकालय भ्रमण राखिएकामा त्यसले नियमित अध्ययनमा अवरोध आएकाले अहिले कुनै पनि पिरियड खाली हुनासाथ पुस्तकालयमा जाने चलन चलाइएको पनि उनले बताए ।
जन्म दिवसका अवसरमा विद्यालय पुगेका काठमाडौँं १० का प्रतिनिधिसभा सदस्य राजेन्दकुमार केसी, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र प्रदेश सभा सदस्य रमा आलेमगरले पुस्तक दिने प्रचलन अत्यन्त सिर्जनात्मक रहेको धारणा व्यक्त गरे। सतुङ्गलवासीको पहलमा स्थापित उक्त विद्यालयमा अहिले करिब नौ सय विद्यार्थी छन् तर नगन्य सङ्ख्याका स्थानीयवासीले मात्र आफ्ना सन्तानलाई त्यहाँ पढाउने गरेका छन् ।
