राज्यको नीतिमा नै समेटिएन संस्कृत उच्च शिक्षा

गण्डकी । अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवं विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा पोखरामा सञ्चालित गोष्ठीमा राज्यको शिक्षा नीतिमा नै संस्कृत उच्च शिक्षा नसमेटिएकामा जोड दिइएको छ । दुईदिने गोष्ठीको दोस्रो दिन मङ्गलबार आयोजित ‘संस्कृत उच्च शिक्षामा आकर्षण वृद्धिका आधारहरू’ विषयक छलफलमा शिक्षा नीतिमा नै समावेश नगरी यसलाई मूलधारबाट टाढा राखिएको बताइएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक डा. नारायण चालिसेले देशको शिक्षा नीतिमा संस्कृत उच्च शिक्षा नसमेटिएको जनाउँदै यसलाई समेट्नु जरुरी रहेको बताए ।
देशव्यापी रुपमा यसको महत्व र विशेषतालाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यससँग रोजगारीको सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । विद्यालयीय शिक्षामा संस्कृतलाई समेट्दै लैजानु आवश्यक भएकामा जोड दिँदै उनले जनतामा आकर्षण भए पनि यो राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । कार्यपत्र माथि टिप्पणी गर्दै प्राडा. शालिग्राम सुवेदीले संस्कृत शिक्षा सामूहिक चेतनासँग जोडिन नसकेको बताए । विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षाको संरक्षण र विकासका लागि संस्कृत वाङ्मयमा अध्येता, आनुसन्धाता सबैले सामूहिक प्रयास जारी राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यापीठका पूर्वविद्यार्थी आचार्य लक्ष्मण भण्डारीले जीवन व्यवस्थापन कला विषयक प्रशिक्षण दिएका थिए । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक डा. चूडामणि कँडेलको सभापतित्वमा सम्पन्न कार्यशालाको सहजीकरण सदस्य सचिव उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए । कार्यक्रमा सहप्राध्यापक सत्यराज सुवेदी, प्राडा. यामबहादुर पौडेल क्षेत्री, उपप्राध्यापक सुरज पौडेल, डा. भोलानारायण रेग्मी, सहप्राध्यापक पूर्णचन्द्र वाग्ले, उपप्राध्यापक गणेश सुवेदी लगायतले संस्कृत शिक्षाको महत्वबारे प्रकाश पारे ।
यसअघिको गोष्ठीको दिन सोमबार ‘संस्कृत उच्च शिक्षामा समसामयिक चुनौती’ विषयक कार्यपत्र सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदीले प्रस्तुत गरे । कार्यपत्रमा सहप्राध्यापक डा. शान्तिकृष्ण अधिकारीले टिप्पणी गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले उद्घाटन गरेको गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत वाङ्मयप्रेमी सहित एक सय २५ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Recommended For You