काठमाडौं । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरे । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले सङ्घीयतासहितको संविधान उत्कृष्ठ रहेको र यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र सङ्घीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।”
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सङ्घीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातान्त्रक, सङ्घीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको बताउनुभयो । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज भएको टिप्पणी गरे ।
पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको हुँदा संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने बताए ।अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको सकरात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको उल्लेख गर्दै पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको बताए ।
