नेपाली स्थानीय बाजामा स्थानीय कलाकारको बेजोड प्रस्तुति नेपाल आर्केस्ट्रा-११४३

अन्तर्राष्ट्रिय सङ्गीत दिवसको उपलक्ष्यमा नेपाली ४० थरि स्थानीय बाजामा ३५० स्थानीय कलाकारले नेपाली सङ्गीत प्रस्तुत गरेका छन् । यसरी नेपालमा नै ३५० जना कलाकारले एकै ठाउँमा ४० थरि बाजा बजाएर सङ्गीत प्रस्तुत गरिएको पहिलो पटक हो ।

नेपाल आर्केस्ट्रा-११४३ कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा विविध लोकबाजालाई समेटेर संङ्गीत र बाजाको संरक्षण र विकासमा लागेकोमा धन्यवाद दिएका थिए । उनले यस्ता सांस्कृतिक कार्यक्रममा भाषण बढी राख्नाले कार्यक्रमको महत्वमा कमी आउने हुनाले यस्ता ऐतहासिक सांस्कृतिक कार्यक्रममा भाषणलाई कम गर्नुपर्ने सुझाव पनि दिए ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डङ्गोलले, जसरी आ-आफ्ना बाजा बजाउन एकै ठाउँमा आयौँ । त्यसरी नै विकास र निर्माणमा संघीय, प्रदेश र स्थानीय सरकार पनि एकै ठाउँमा आएर लाग्नुपर्ने बताइन् । उनले काठमाडौँ महानगरपालिकालाई साँस्कृतिक नगरी बनाउने आफ्नो सपना रहेको र उक्त सपनालाई साकार पार्न नेपाल आर्केष्टाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । संस्कृतिको कुरा गर्दा छुट्याउनै नहुने पाटो भनेको सङ्गीत हो । सङ्गीतले देशभरिकै नागरिक जुटाउने काम गर्न सकिने भएको हुँदा त्यतातर्फ पनि आफ्नो कोसिस रहने डङ्गोलको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका संस्कृति तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का वडा अध्यक्ष आशामान सङ्गतले मौलिक संस्कृति, बाजागाज बचाउन र विकास गर्न संघीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

ज्यापु महागुथी नेपाः का केन्द्रीय अध्यक्ष राजभाइ जकमीले नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश मात्र होइन यो बहुसाङ्गीतिक देश पनि भएको बताए । उनले नेपाल आर्केष्ट्रा आयोजना गर्नुको मुख्य उद्देश्य भनेको लोक सङ्गीत र लोक बाजाप्रति युवाहरूको आकर्षण बढाउनु पनि रहेको उल्लेख गरे ।

ऐतिहासिक नेपाल आर्केष्ट्रा-११४३ को सङ्गीत निर्देशन वाद्य सम्राट न्हुच्छे बहादुर डङ्गोल तथा वरिष्ठ वाद्य गुरू धर्म मुनिकारले गरेका थिए । कार्यक्रम काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति र ज्यापू महागुथि नेपा: केन्द्रीय समितिको संयुक्त आयोजनामा खुल्लामञ्चमा सम्पन्न भएको थियो ।

 


Recommended For You