मजदुर आन्दोलनका संस्थापक नेता पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको अर्धकदको सालिक आज प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अनावरण गरिएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो प्राङ्गणमा आफ्ना संस्थापक अध्यक्ष स्व. गिरिजाप्रसाद कोइरालाको सालिक स्थापना गरेको थियो । सोही सालिक कोइरालाको ९९ ओैँ जन्मजयन्तीको सन्दर्भमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अनावरण गरिएको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवाले-‘ विराटनगर जुटमिल परिसरमा रहेको भवनलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्व. कोइराला अद्भूत क्षमता भएको व्यक्तिका रूपमा आफूले पाएको बताए । स्व. गिरिजाप्रसाद कोइरालासँग पहिलोपटक नख्खु जेलमा भेटेको र त्यहीँबाट चिनजान गरेर उहाँसँगै निरन्तर राजनीतिमा अगाडि बढेको प्रधानमन्त्री देउवाले बताए ।
त्यसै गरी नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङले -‘स्व. कोइराला क्रान्ति नायक मात्र नभएर शान्ति नायक पनि भएको बताए ।’ उनले ‘क्रान्ति र शान्तिका नायक स्व. कोइराला पाँच पटक प्रधानमन्त्री हुनुभएको थियो र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि पौँचौँ पटक प्रधानमन्त्रीमा रहँदा नै सालिक अनावरण हुन पुगेको छ, यो महत्वपूर्ण ऐतिहासिक संयोग भएको उल्लेख गरे ।
सालिक अनावरण कार्यक्रममा बोल्दै कोइरालाकी छोरी एवं काँग्रेस नेतृ सुजाता कोइरालाले विराटनगर जुट मिल परिसरमा रहेको भवनलाई सङ्ग्रहालय बनाउन सरकारसमक्ष अनुरोध गरिन् । त्यस भवनमा अहिलेसम्म पनि ऐतिहासिक सामग्री रहेको उनले जानकारी दिइन् ।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
