नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उप-सभामुखमा भारी मतका साथ निर्वाचित भएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा पुष्पा भुसालले १४८ मत ल्याएर उप-सभामुखमा विजय हासिल गरेकी हुन् । उनले नेकपा एमालेकी उप-सभामुख उमेद्वार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । पुष्पा भुसालले १४८ मत ल्याउँदा विद्या भट्टराईले ९३ मत मात्र प्राप्त गरेकी थिइन् ।
सांसद पुष्पा भुसाल दोस्रो प्रयासमा उप-सभामुख बन्न सफल भएकी हुन् । यस अघि २०७४ सालमा भएको उप- सभामुखको निर्वाचनमा पनि उनी नेपाली काँग्रेसको तर्फबाट उप-सभामुख पदमा चुनाव उठेकी थिइन् । त्यतिखेर वाम गठबन्धनका तर्फबाट उम्मेद्वार भएकी नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फेसँग भुसाल पराजित भएकी थिइन् । शिवमाया तुम्बाहाम्फेले २०१ मत प्राप्त गर्दा भुसालले जम्मा ५८ मत मात्र प्राप्त गरेकी थिइन् ।
राजनीतिक कोर्स परिवर्तन भएपछि आज शुक्रबारसम्म आइपुग्दा वाम गठबन्धन भत्केर पाँच दलीय गठबन्धन बनिसकेको थियो जस कारण आज पुष्पा भुसाल उप-सभामुखमा विजयी हुन सफल भइन् ।
