अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न सरकारले कानुन बनाउँछ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन् ।

“प्रविधि आफैँमा पूर्वाग्रही हँुदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उनले भनिन्, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ ।” उनले डिजिटल शिक्षालाई ग्रामीणस्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गरिन् ।

मन्त्री शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरणसम्बन्धमा सरकारले कानुनी व्यवस्था गरी सम्बोधन गर्ने बताइन्् । “विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन । यसबारे सरकार सजग छ”, उनले भनिन्, “राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ ।”

 


Recommended For You