गठबन्धनले पाँच वर्षका लागि जनतासँग मत मागेको हो, तलमाथि हुँदैन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन् ।कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गरे । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रष्ट पारे । गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।

वर्तमान गठबन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पारे ।एक फरक प्रङ्सगमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशमा अपार सम्भावना भएको भन्दै अबपछि परेको भन्नेभन्दा पनि कसरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर सबै मिलेर काम गर्ने बेला भएको बताए ।

कर्णाली आफैँमा सभ्यता, संस्कृतिदेखि प्राकृतिक स्रोत साधनले समेत भरिपूर्ण रहेकाले यो प्रदेशलाई अबको १०/१५ वर्षमा समृद्ध प्रदेश बनाउन सकिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । चलचित्र क्षेत्रका लागि पनि कर्णाली प्रदेश आफैँमा एउटा क्यानभास भएको भन्दै खड्काले यसरी हुने चलचित्र महोत्सवले कर्णालीलाई संसारभर चनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


Recommended For You