काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिएको बताए ।
“जलवायु परिवर्तनबाट समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपका घटना उत्पन्न हुँदै गएका छन्, सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक छ”, उनले भने । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरबाट देखिएको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीन खोज र स्थानीय ज्ञानको उपयोगमा लाग्नुपर्ने बताए । जलवायु परिवर्तनको असर विश्वका हरेक कुनाकुनामा देखा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताए ।
“जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, १.५डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीयरूपमा घटाउनुपर्छ”, प्रधानमन्त्री दाहालले भने । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै महत्वपूर्ण भएको उनको भनाइ थियो ।
जलवायु परिवर्तनको असरका कारण पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको विस्फोट तथा खडेरी बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता प्रकोपले गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका बताए । पछिल्लो प्रतिवेदनअनुसार प्राकृतिक हिमशृङ्खला र विश्वव्यापी स्रोत एकतिहाइ गुमेको उनले बताए । यस्ता हानिनोक्सानीले जैविक विविधतालाई मात्र नभई तटीय क्षेत्रमा रहेका अर्बौं मानिसको जीविकोपार्जनलाई समेत खतरामा पारेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा सम्पन्न कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गर्दै आएको प्रधानमन्त्री दाहालले बताए ।
