कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सदन अवरुद्ध भएको छ ।
बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गरे । सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गरे । साथै उनले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराए ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनीष झालाई बोल्न समय दिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन  गर्नका लागि सहयोग गर्न आग्रह गरे । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गरे ।
कांग्रेस सांसदहरु आसनबाट उभिइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

Recommended For You