संविधानमा रहेका कमीकमजोरीलाई सुधार्नुपर्छ, राजतन्त्र फर्कने कुरा असम्भव छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् । पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताए ।

“अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भए । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट गरे । उनले भने “अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमीकमजोरीलाई सुधार्ने ठाउँ छन् ।” सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गरे ।


Recommended For You