लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको २६औँ साधारणसभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताए । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ”, उनले भने ।

सभापति देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताए । “कांग्रेसलाई दोष लगाउन मिल्दैन”, उनले भने ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताए । “राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन”, उनले भने । उनले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए । नेता डा. कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौँ सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न कांग्रेसले संसदीय समितिको माग गरेको बताए । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्दै संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने उनले स्पष्ट पारे ।

कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे । “संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुराहरु पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ”, उनले भने । सुशासन र भ्रष्टाचार अन्त्यको विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ”, उनले भने ।


Recommended For You