कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा सिके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन् ।
मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए । ‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिदैन । स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला”, उनले भने । अध्यक्ष डा राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानीभित्रिन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले ध्याउने अवस्था छैन भने ।
उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रको रुपमा सामाजिक लोकतन्त्रको कुरा गरेको धारणा राखे ।
