प्रधानमन्त्री ओलीले पाए संसद्को दुईतिहाइ विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत पर्‍यो भने विपक्षमा ७४ मत पर्‍यो।

त्यस्तै, एक सांसद तटस्थ बसे। प्रतिनिधिसभाको बैठकमा २६३ सांसद उपस्थित थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मतको पक्षमा मतदान गरे।यस्तै, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मत दिए। नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद तटस्थ बसे।

गत असार ३१ मा कांग्रेसको समर्थन पाएर संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओली प्रधानमन्त्री नियुक्त भएका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार ओलीले आइतबार विश्वासको मत लिएका हुन्।


Recommended For You