एकातिर नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले बाम एकताका लागि पहल गर्ने निर्णय गरेको छ भने अर्कातिर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको बैठकले विचार मिल्नेसँग गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठका बिच छलफल भएको थियो ।
काँग्रेस केन्द्रीय समितिको निर्णय आएसँगै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेता हच्किन पुगेका छन् । उनीहरूलाई काँग्रेससँगको गठबन्धनमा आफूलाई सम्मानित हुने सिट सङ्ख्या पाइन्छ भन्नेमा संशय देखिन्छ । फेरि काँग्रेसभित्र शेखर कोइराला समूहले गठबन्धन गर्न आवश्यक नरहेको कुरा गरिरहेका छन् । त्यस्तै भोलि काँग्रेस कार्यकर्ताले बामपन्थीलाई इमानदारीपूर्वक भोट हाल्छन् भन्ने विश्वास पनि उनीहरूले गर्न सकिरहेका छैनन् त्यसैले विचार मिल्नेसँग भनेर गठबन्धनको कुरा बाक्लै रूपमा हुन थालेको छ ।
पुषपकमल दाहाल र माधवकुमार नेपाललाई कसैसँग गठबन्धन नगरी चुनाव जितिन्न भन्ने राम्ररी थाहा छ त्यसैले उनीहरू पाँच दलीय गठबन्धनलाई बलियो बनाउनुपर्छ पनि भनिरहेका छन् भने विचार मिल्नेसँग गठबन्धन गर्नुपर्छ पनि भनिरहेका छन् । कतै चुनाव हुने बेलासम्म कसैसँग गठबन्धन हुन नसकेर एक्लाएक्लै चुनाव लड्नुपर्ने हो कि भन्ने डर पनि दाहाल र नेपालमा रहेको बुझ्न सकिन्छ ।
अन्तिम समयमा काँग्रेससँग पनि गठबन्धन हुन नसक्ने र नेकपा एमालेसँग पनि गठबन्धन हुन सकेन भने राजनीतिक मैदानबाट छायाँमा परिन्छ भन्ने दाहाल नेपाल दुवैले बुझेका छन् । कतै केपी र शेरबहादुर मिलेर गठबन्धनमा नगई एक्लाएक्लै चुनाव लड्ने निर्णय लिदिन्छन् कि भन्ने भय पनि दाहाल नेपालमा नहोला भन्ने छैन । किनकि केपी ओली र शेरबहादुर देउवाको दुरी पनि धेरै टाढा छैन । दुवै नेता निर्णय लिन सक्ने नेता पनि हुन् ।
