बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाको कारण देखाउँदै भारतीय सीमामा

एजेन्सी । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएको बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उनीसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दुहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए । “सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दुहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बिएसएफ)का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए ।

पश्चिमबङ्गाल राज्यको भारतीय सिमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए ।“दुई देशबीचको सिमामा कुनै पर्खाल नभएको कारण बिएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उनले भने ।

सन् २००९ देखि सत्तामा रहेका ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएको हो । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ । बङ्गलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तिमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।

Recommended For You