सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोहीअनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए । “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा. कोइरालाले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम मालासहित भव्य स्वागत गरेका थिए ।
