जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा हुने दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिकाले गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा हुने दोस्रो बागमती प्रदेश स्तरीय बरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगिता -२०८१ टोखा नगरपालिकाले आयोजना गर्ने भएको छ । यही पौष १९ र २० गते हुने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौँको संयोजन एवं बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा टोखा नगरपालिकाको वडा नम्बर ५ को प्राङ्गणमा हुने भएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले तेक्वान्दो खेलाडीको बरियता निर्धारणले खेलाडीहरूको मनोबल पनि बढ्ने र हामीले पनि राम्रा राम्रा खेलाडीहरुलाई अवसर सिर्जना गर्न सक्ने भएको हुँदा बरियता सहितको तेक्वान्दो लिग प्रतियोगिता गर्न लागेको बताउनुभयो ।

यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलकुदका माध्यमबाट नगरपालिका र जिल्ला समन्वय समितिबीचको समन्वय अझ मजबुत हुने र नयाँ खेलाडीहरूले पनि अवसर प्राप्त गर्ने हुँदा खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्न लागेको बताउनुभयो । उहाँले खेल व्यक्तिले खेल्छ तर देशलाई शिरमा राखेर, देशको गरिमालाई बोकेर खेल्ने भएको हुँदा खेलाडीलाई अवसर प्रदान गर्नु आफ्नो कर्तव्य सम्झेर पनि तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । प्रमुख अधिकारीले खेलाडीलाई प्रेरणा दिनु पनि टोखा नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।

बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीले तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगितामै सबैभन्दा बढी पदक दिलाउन सफल खेल हो । यस्तो खेल प्रवर्द्धन गर्न जिल्ला समन्वय समिति काठमाडौँ र स्थानीय सरकारले अपनत्व लिई लिग आयोजना गरिदिनुभएकोमा धन्यवाद दिनुभयो ।

वरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगितामा पुरुष ५ तथा महिला ५ गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ। लिगमा पहिलो खेलाडीले १०, दोस्रोले ७ र तेस्रो हुनेले ३ अङ्क पाउनेछन् । लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायात लगायतको खर्च जिल्ला समन्वय समिति काठमाडौँले बेहोर्ने बताइएको छ । लिगमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक लिग विजेतालाई पदक तथा प्रमाण-पत्रको व्यवस्था गरिएको बताइएको छ ।

लिग सञ्चालनका लागि करिब सात लाख रूपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । र्याङ्किङमा परेका खेलाडीहरूका लागि बस्न र खानको व्यवस्था कलङ्की होटल एण्ड गेस्ट हाउस एसोसिएसनले गर्ने भएको छ । यसका लागि आजै टोखा नगरपालिका खेलकुद विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष नरोत्तम राणा र कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनका महासचिव राजु घिमिरेका बीच सम्झौता समेत भएको थियो ।


Recommended For You