काठमाडौँ । दुर्लभ किसिमको फिस्टुलाका कारण जन्मेदेखि नै पिसाब चुहिने रोगले पीडित रौसन ताराको सफल शल्यक्रिया (ल्याप्रोस्कोपिक एसिस्टेड युरेटेरोयुरेटेरोस्टोमी सर्जरी) भएको छ । ताराको काठमाडौँ मोडेल हस्पिटलमा डा. मनोजकृष्ण श्रेष्ठले शल्यक्रिया गर्नुभएको हो ।

बाह्र वर्षपछि तारामा खुसी फर्केको छ । तारामा मात्र नभएर परिवारमा नै खुसी छाएको छ । पिता इसराइल मनसुक र माता सोम्बर खातुनकी छोरी रौसन तारा वृन्दावन नगरपालिका, रौतहटकी वासिन्दा हुन् ।
पिसाब चुहिने रोगका कारण रौसन तारा विद्यालय जाँदैनथिन् । कुनै पनि पर्व, मेला, विवाह आदि समारोहमा पनि जाँदैनथिन् । शरीर गनाउँथ्यो, बस्न अप्ठ्यारो हुन्थ्यो, कपडा भिज्थ्यो । यसले तारालाई मानसिक चिन्ता थपेको हुन्थ्यो । एक्लै टोलाउँथिन् । सुन्दर मुहार सधैँ मलीन थियो । अब तारामा हाँसो फर्किएको छ ।
रौसन ताराको जन्मजात दुवै किड्नी दुई दुई भागमा विभाजित (बाइल्याटरल डुप्लेक्स् किड्नी) थियो । किड्नीबाट मुत्रनली पिसाब थैलीमा जान्छन् । ताराको पनि हरेक किड्नी को दुवै भागबाट निस्केको चारवटा मुत्रनली मध्ये तीनवटा मुत्रनली पिसाब थैलीमा गएका थिए । तर, एउटा मुत्रनली भने सोझै योनी मार्गमा गएको थियो । जसले गर्दा योनीमार्ग बाट तपतप पिसाब चुहिरहने समस्याले उनी बाह्र वर्षदेखि (जन्मेदेखि नै) पीडित थिइन् ।
रौतहटका स्थानीय अस्पतालतिर जाँच गराउँदा समस्या पहिचान भएको थिएन । काठमाडौँ मोडेल हस्पिटलले सिटी आइभियुका माध्यमबाट जाँच गरेपछि रोगको पहिचान भएको थियो । यस किसिमको रोग २०/२५ हजार जनामा १ जनामा देखिन सक्ने डा. श्रेष्ठ बताउनुहुन्छ ।

डा. श्रेष्ठका अनुसार रोग पत्ता लगाइसकेपछि चिरफार नगरी टेलिस्कोप/दुरविनको माध्यमद्वारा सफल शल्यक्रिया गरिएको हो । रौसन तारामा अब वयस्क हुँदा पनि समस्या रहने छैन । उनमा विवाह गरी गर्भाधारण गर्नमा समेत कुनै समस्या नरहने डा. श्रेष्ठको भनाइ छ।
गरिब परिवारकी रौसन ताराको एक लाख पचास हजारभन्दा माथि पर्न जाने सम्पूर्ण उपचार खर्च काठमाडौँ मोडेल हस्पिटलले नि:शुल्क गरेको हो ।
