काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरुलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताउनुभयो। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला अधिकार र सशक्तीकरणको लागि भएका प्रयासहरु र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले सो कुरा बताउनुभएको हो।
नारी डंगोलले नारीको शक्ति, सहनशीलता, क्षमता र धैर्यतालाई बुझ्न सके नारी सशक्तीकरणमा ठूलो योगदान हुने बताउनुभयो । उहाँले आमाप्रति लोयल हुन सके अरुलाई पनि बुझ्न सकिने बताउनुभयो । पद ठूलो सानो होला तर नागरिकको अपेक्षा समान रहेको हुँदा सबै जनप्रतिनिधिले उत्तिकै काम गनुपर्ने डंगोलको भनाइ थियो। उहाँले नारी नारीकै निम्ति हुनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । देश फरक भए पनि, नीति फरक भए पनि, भूगोल फरक भए पनि विश्वभर नै महिलाको अवस्था उस्तै रहेको को डंगोलको भनाइ थियो । उहाँले बरु अन्य देशमाभन्दा नेपालमा संविधानमा नै महिलाको भूमिका सुनिश्चित गरिएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सामाजिक विकास समितिका सदस्य एवं कार्यपालिका सदस्य महेश नेपालीले हाम्रो समाजलाई नेपाली समाजलाई समतामूलक समाज बनाउन सबैले आआफ्नो काम इमानदारी रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार माग्ने मात्र होइन, आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । आआफ्नो ठाउँबाट हामी सबैले आफ्नो कर्तव्य निर्वाह गर्न सकेमा समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सकिने नेपालीको भनाइ थियो
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक बिन्दा आचार्यले आफ्नो प्रस्तुतिमा पूर्वीय दर्शनलाई जोडेर नारी शक्तिको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो । त्यस्तै काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले काठमाडौँ महानगरपालिकाले महिला सशक्तिकरणका लागि र महिलालाई उद्यमी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले गरेका कार्यक्रमहरूको प्रस्तुति दिनुभएको थियो। सहभागीले महानगरले धेरै काम गरेको छ तर कतिपय कामहरुको सूचना पाउन नसकेको गुनासो गरेका थिए । कार्यक्रम सामाजिक विकास समितिका सदस्य एवं कार्यपालिका सदस्य ललिता खड्गीको अध्यक्षतामा भएको थियो ।

