काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समितिको आयोजनामा DCC-CUP फुटबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको पहिलो खेलमा दक्षिणकाली नगरपालिकाले नागार्जुन नगरपालिकालाई र तारकेश्वर नगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई समान ० का विरूद्ध १ गोल गरी विजयी शुरूवात गरेका छन् ।
DCC-CUP उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य ध्यानगोविन्द रञ्जितले टोल-टोलमा, वडा-वडामा नै खेलकुद गतिविधि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुद क्षेत्र राम्रो हुन सके राजनीतिमा पनि त्यसको प्रभाव पर्ने बताउनुभयो ।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले न्युन स्रोत, न्युन अधिकार भए पनि राम्रो काम गर्न कसैले रोक्न नसक्ने रहेछ भनेर जिल्ला समन्वय समिति काठमाडौँले प्रमाणित गरेको बताउनुभयो । उहाँले अहिले समन्वय समितिसँग स्रोत पनि छैन, खर्च गर्ने अधिकार पनि छैन तर मिहिनेत साथ रचनात्मक काम गरिरहेकोमा जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकी र उहाँको टिमको प्रशंसा गर्नुभयो । बस्नेतले खेलकुदले नै राष्ट्रको गरिमा बढाउने भएको हुँदा स्थानीय स्तरबाट नै खेकुदको विकास हुनुपर्ने बताउँदै आफू पनि त्यसमा प्रतिबद्ध भएको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकीले जिल्ला समन्वय समितिको काम नै पालिकाहरू बिच समन्वय गर्ने भएको हुँदा पालिकासँगको समन्वयमा नै स्थानीय स्तरका युवाहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदका कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले DCC-CUP फुटबल प्रतियोगिता अन्तरपालिका बिच गराउनु भनेकै प्रतिभावान स्थानीय खेलाडीको खोजी गर्नु रहेको बताउनुभयो । यसले स्थानीय खेलाडीलाई उत्प्रेरित गर्छ भन्ने जिल्ला समन्वय समिति काठमाडौँको उद्देश्य रहेको बुढाथोकीको भनाइ थियो ।
पूर्व जिल्ला विकास समिति सदस्य श्यामकृष्ण खड्काले खेलकुदका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदको विकास हुन सके अन्य क्षेत्रको विकास पनि सँगसँगै हुँदै जाने बताउनुभयो ।
DCC-CUP फुटबल प्रतियोगिताका लागि काठमाडौँ जिल्ला समन्वय समितिलाई अखिल नेपाल फुटबल संघ, सशस्त्र प्रहरी बल र जिल्ला खेलकुद विकास समिति काठमाडौँको प्राविधिक सहयोग रहेको जनाइएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू सशस्त्र प्रहरी बलको हलचोकस्थित एपिएफ फुटबल मैदानमा खेलाइने बताइएको छ । प्रतियोगताको फाइनल खेल आगामी ९ गते हुने आयोजक जिल्ला समन्वय समिति काठमाडौँले बताएको छ ।

