
काठमाडौँ । सरोकारवालाहरूले अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौँ महानगरपालिकाको प्रयास उल्लेखनीय रहेको बताएका छन् । नेपाल अपाङ्ग महिला सङ्घले आयोजना गरेको अपाङ्गता भएका महिला तथा बालिका हिंसा विरुद्धको सवालमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष मीना पौडेलले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिला तथा बालिकाहरूको न्यायमा पहुँच पुर्याउन राज्यका सबै निकायहरूबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । पालिका स्तरीय सहायता कक्षहरूको विकास, नेपाल प्रहरीलगायतका सरकारी कार्यालयहरूमा सांकेतिक भाषा (दोभाषे) को व्यवस्था, पूर्ण अपाङ्ग मैत्री भौतिक संरचनालगायतका विषयमा ध्यान पुर्याउन सके मात्र अपाङ्गता भएका महिला तथा बालिकाहरूको न्यायमा पहुँच पुग्ने र सम्मानित जीवन बाँच्न सक्ने समेत वातावरण बन्ने पौडेलको भनाइ थियो । पौडेलले काठमाडौँ महानगरले अपाङ्ग मैत्री वातावरण तयार गर्न ध्यान पुर्याएकोमा प्रशंसा समेत गर्नुभयो ।

त्यस्तै अर्का कार्यपत्र प्रस्तोता अधिवक्ता डाक्टर विद्या चापागाईंले अपाङ्गता सम्बन्धी विभिन्न रूपमा छरिएर रहेका कानुनलाई एकै ठाउँमा ल्याएर छाता कानुन निर्माण गरी अभ्यास गर्न सके अपाङ्गता भएका महिला तथा बालिकाहरुले पनि न्याय पाउन सक्ने उल्लेख गर्नुभयो । काठमाडौँ महानगरले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी जुन किसिमको सेवा दिने प्रयत्न गरेको छ, त्यसैगरी ७५३ पालिकाले नै सेवा प्रवाह गर्न प्रयास गर्नुपर्नेमा चापागाइँको जोड थियो। नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश अधिकारीले पनि अपाङ्गताका क्षेत्रमा महानगरले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले काठमाडौँ महानगरले दया मायाका आधारमा भन्दा पनि अपाङ्गता भएका व्यक्तिको अधिकारका आधारमा सेवा दिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूका लागि महानगरपालिकाले राष्ट्रिय अपाङ्ग कोषसँग पनि सहकार्य गरेको उहाँको भनाइ थियो । निरौलाले अपाङ्गता भएका व्यक्तिका लागि भनेर नै महानगरले अपाङ्ग कोषलाई गतवर्ष २० लाख दिएकोमा यो वर्ष ३० लाख दिन लागेको पनि बताउनुभयो । साथसाथै अपाङ्गता भएका व्यक्तिमा सञ्चारको अवरोधमा थप सहयोग पुगोस् भनेर दोभाषे (सांकेतिक भाषा) को सङ्ख्या वृद्धि गर्न पनि महानगर लागिपरेको बताउनुभयो । काठमाडौ महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख दीपक केसीले सेवा प्रदायक सरकारी कार्यालयहरुका बीचमा प्रतिस्पर्धा गराई सामाजिक संघसंस्थाहरुले पुरस्कृत गरेर हौसला बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका सार्वजनिक निर्माण विभागका सहायक निर्देशक ई. प्रेम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अपाङ्ग मैत्री भवन बनाउन विशेष जोड दिइरहेको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा जमिनको अभाव भएको हुँदा अपाङ्ग मैत्री संरचना बनाउन केही कठिनाइ भए तापनि भएको जमिनमा सकेसम्म अपाङ्ग मैत्री नै संरचना बनाइएको श्रेष्ठको भनाइ थियो । उहाँले सरकारी भवनमा मात्र नभएर प्राइवेट भवनहरु पनि अपाङ्ग मैत्री बनाउनुपर्नेमा सामाजिक संघसंस्थाहरुले पनि पहरेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका प्रहरी निरीक्षक सरस्वती विश्वकर्माले सीमित स्रोत र साधनका कारण अपाङ्गता भएका पीडित महिला त्यसमा पनि बालबालिकाहरूलाई भनेजस्तो सेवा प्रदान गर्न कठिनाइ रहेको बताउनुभयो । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका (ओसिएमसी) फोकल पर्सन मेनुका पोखरेलले हिंसा पीडित महिलाहरूलाई पठाउन अपाङ्ग मैत्री सेफ हाउस नहुँदा सेफ हाउसमा पठाउन नै कठिनाइ रहेको उल्लेख गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, कीर्तिपुर वर्न हस्पिटल, ओसीएमसीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।