सुर्खेत । जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावत, उपप्रमुख सरिता सिंहलगायत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासि भानुभक्त माध्यामिक विद्यालय नलगाड ४ मा पुगे । चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेको छ भन्दै छड्के जाँचका लागि नगरपालिकाको टोली विद्यालयमा पुगेको हो । विद्यालयको कार्यालयभित्र प्रवेश नगरी नगरको टोली विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे ।
तीन वर्षअघि विद्यालयको विनी रहेका गिरी अहिले नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।
विद्यालको अवस्था निरीक्षणपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाबसमेत दिएका छन् । नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयको अनुगमन र अवस्था बुझेर थप सुधारको लागि निष्कर्ष नगरपालिकासँग छलफल गर्ने बताए ।
राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिए । नलगाडमा रहेका सबै मावि, आधारभूतसँगै सबै विद्यालयको अनुगमन जारी रहेको छ ।
