सिराहा । सिराहाका अधिकांश विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको छ । शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालय नै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गरेका छन् ।स्थानीय तहका नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवा खाजाबापतको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेका छन् । गोलबजार नगरपालिका–१ मा रहेको कक्षा ३ सम्म पढाइ हुने दलित आधारभूत विद्यालयमा हाजिरी रजिस्ट्ररमा जम्मा ८५ विद्यार्थी भर्ना देखिन्छ। यहाँ दिनहुँ आउने विद्यार्थी भनेको मुस्किलले २०–२५ जना मात्रै हुन् । तर, नगर शिक्षा शाखाबाट भने ९१ जना विद्यार्थीको नाममा खाजाबापतको रकम गइरहेको छ ।
विद्यालयको हाजिरी जजिस्ट्रारमा बाल विकासमा २९ जना, कक्षा १ मा २०, २ मा २१ र कक्षा ३ मा १५ जना गरी जम्मा ८५ जनाको नामा छ । तर, शिक्षकहरूले गोलबजार नगरशिक्षा शाखामा भने ९१ जना विद्यार्थीको नामाङ्कन पेस गरेका छन् । विद्यालयका प्रधानाध्यापक निरोज यादव विद्यार्थीहरू विद्यालयभन्दा बाहिरै बढी रमाउने भएकाले उपस्थिति कम भएको बताउँछन्। एकजना निजी स्रोतका शिक्षकको भरमा विद्यालय छोडेर दिनहुँ गोलबजार शिक्षा शाखा धाउने गरेको छ। प्रअ यादव दिनहुँ कुनै न कुनै बाहानामा विद्यालयमा हाजिर गरेर बाहिरीने गरेको अभिभावक बताउँछन् । निरोजकै श्रीमती सोनम यादव बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता हुन् । उनी पनि हतपत्त विद्यालय आउँदिनन्। शिक्षकशिक्षिका नियमित विद्यालय नआएपछि विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको छ।
विद्यालयमा प्राय: एक जना मात्र निजी स्रोतका शिक्षक रञ्जितकुमार पासवान देखिने गरेको अभिभावक शान्तिदेवी मोचीले बताए । उनले भनिन्, ‘पहिला विद्यार्थी केही लेखपढ गर्नसम्म जान्दैन थे, नयाँ शिक्षक आएपछि केही सिकेका छन् । निरोज र उनकी श्रीमती कहिलेकाहीमात्र आउँछ, आए पनि १२ नबज्दै घर फर्कने गरेका छन् ।’ प्रधानअध्यापक यादव विद्यालय आए पनि मोबाइलमा मात्र खेलाएर बस्ने गरेको स्थानीय अभिभावक चन्दर राम बताउँछन् । उनले आफ्नो बच्चा शिक्षकहरूकै कारण निजी विद्यालयमा हाल्नु परेको दुखेसो पोखे। उनले भने, ‘यो विद्यालयमा कहिल्यै सबै शिक्षक नियमित आउँदैनन्, आए पनि १२ नबज्दै निस्कन्छन्, विद्यार्थीलाई पढाउँदै पढाउँदैनथे, त्यसैले मैले आफ्नो बच्चा निजी विद्यालयमा सार्न बाध्य भएँ ।’
स्थानीय प्रदीप रामका छोरा पनि यहि विद्यालयको २ कक्षामा पढ्दै छन् । नियमित र चित्त बुझ्दो पठनपाठन नभएपछि उनले पनि वैकल्पिक उपाय खोज्नुपर्ने आवस्था आएको बताए ।०६७ सालमा विद्यालय स्थापना भए पनि अहिलेसम्म शिक्षकको दरबन्दि छैन । प्रअ निरोज यादव पनि निजी स्रोतका शिक्षक हुन् । विद्यालय सञ्चालनको लागि गोलबजार शिक्षा शाखाले दिने एकमुष्ट वार्षिक १० लाख अनुदानबाट विद्यालय चलेको छ । प्रअ यादवले एक्लैले पढाउन सक्ने अवस्था नरहेकोले व्यवस्थापन समितिको निर्णयमा एकजना शिक्षक राखिएको बताए । विद्यालयले दिवा खाजा, पाठ्य पुस्तक र छात्रावृत्ति, बालविकास र विद्यालय कर्मचारीको तलब सुविधाबापतको रकम थप पाउने गरेको छ।
नगर शिक्षा शाखा प्रमुख सुबोध लामाले प्रअलगायतका शिक्षक, शिक्षिका अनुपस्थित रहेको पाइए कानुन बमोजिम कार्यवाही हुने बताए। उनले सबै शिक्षण संस्थाको नियमित अनुगमन गरिरहेका पनि बताए ।नगरले असारदेखि कार्तिक मसान्तसम्म ७७ दिनको लागि १५ रुपैयाँका दरले ९१ जना विद्यार्थीको खाजाको लागि एक लाख पाँच हजार एक सय पाँच रुपैयाँ निकासा गरेको छ। विद्यालयमा विद्यार्थी उपस्थितिभने अत्यन्त न्यून छ । यसले खाजामा व्यापक अनियमितता हुने गरेको प्रष्ट देखिन्छ। सिराहाका अधिकांश पालिकाहरुको आधारभुत विद्यालयको अवस्था दिनप्रतिदिन खसकिदै गइरहेका छन् । सम्बन्धित निकायको फितलो अनुगमनका काराण आधारभुत शिक्षामा व्यापकक सुधारको खाँचो रहेको जानकारह बताउँछन्।
