सोरु गाउँपालिकाको रारा माध्यामिक विद्यालयको बेथिति, ११ बजे पहिलो घण्टी

मुगु । पहाडी भेगका सबैजसो विद्यालयमा बिहान १० बजेअघि नै विद्यार्थी कक्षाकोठामा पुगिसक्नुपर्ने नियम छ । यसअघि प्रार्थना, राष्ट्रिय गान गाउने र सामान्य अभ्यास गराइने चलन छ । तर, मुगुको सोरु गाउँपालिका–८ कच्चेस्थित रारा माध्यामिक विद्यालयमा भने यो नियम लागू हुँदैन । यहाँ माथि उल्लिखित प्रार्थना, राष्ट्रिय गान गाउने र अभ्यास जस्ता कुनै गतिविधि हुँदैन । विद्यार्थीहरू विद्यालय आइपुग्दै साढे १० बज्ने गर्छ । अझ शिक्षकहरू त झन् साढे ११ बजेमात्रै आइपुग्छन् । पहिलो घण्टी लागेको आधा घण्टासम्म विद्यार्थीहरू घाम ताप्दै शिक्षक कुरिरहेका हुन्छन् ।

मंगलबार बिहान साढे १० बजेतिर हामी विद्यालयमा पुग्दा विद्यार्थीहरू कोही पनि कक्षा कोठामा थिएनन् । चौरतिरै टहलीरहेका थिए । मंसिर, पुस महिनामा यहाँ निकै चिसो हुने भएकाले पहिलो पिरियड नै ११ बजेबाट सुरू हुन्छ । विद्यालय परिसरमा गतिलोसँग घाम पनि नलाग्ने भएकाले साना नानीबाबु सधैँजसो घामतिरै रमाइरहेका हुन्छन् । ‘विद्यार्थीले चिसो मान्ने हुँदा विद्यालयले ११ बजेबाट पढाइ सुरु गरेर ३ बजे विद्यालय बन्द गर्ने गरेका छौँ, ’ रारा माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम थारूले भने । उनका अनुसार विद्यालयमा विषयगत शिक्षक एक जना पनि छैनन, शिक्षकको अभाव पनि छ ।

विद्यार्थीको भविष्यमाथि खेलबाड नहोस् भनि निम्न माध्यामिक तहका शिक्षकले माध्यामिक तहका विद्यार्थीलाई पठनपाठन गर्नु पर्ने अवस्था भएको प्रअ थारूको भनाइ छ । विद्यालयमा शिशुदेखि १० कक्षासम्म प्राविधिक धारको पढाइ हुनेगर्छ । चिसोका कारण यहाँ मंसिर अन्तिममा वार्षिक परीक्षा हुनेगर्छ । पढाइ नै कम हुने हुँदा हरेक विषयमा वर्षभरिमा चारदेखि पाँच वटापाठ मात्रै पढाइ हुने गरेका छ । ‘पोहोर पनि पूरै कोर्स नपढी परीक्षा दियौँ,’ कक्षा ८ का अध्ययनरत विद्यार्थी कृष्णमाया कार्कीले भनिन् ।

उनका अनुसार कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुन्छ । कोर्स नै पूरा नभएको र अंग्रेजी विषय त पढाईनै भएको छैन । प्राय: गाउँकै व्यक्ति शिक्षक भएकाले पनि विद्यालयको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको स्थानीयले बताए ।

पूर्वाधार जीर्ण
टाढाबाट हेर्दा सरकारी विद्यालय जस्तो पनि नलाग्ने सोरुको रारा माविको भौतिक पूर्वाधार जीर्ण छ । विद्यालयमा भएको खानेपानीका धारा वर्षाको बाढीपहिरोले बगाएको छ । यसको मर्मतमा विद्यालयले कुनै पनि चासो देखाएको छैन । मर्मत गर्न विद्यालयसँग स्रोत नभएको र अन्य कुनै पनि निकायले सहयोग नगरेको प्रधानाध्यापक थारुको भनाइ छ ।


Recommended For You