खोटाङमा ४६५ विद्यालयको नाममा बेरुजु

खोटाङ । विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ । भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम केपिलासगढी गाउँपालिकाको विद्यालय बेरुजुमा परेको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १०४, हलेसी तुवाचुङ नगरपालिकाका ९३, ऐँसेलुखर्क गाउँपालिकाका ५३ विद्यालय, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ४७, बराहपोखरी गाउँपालिकाका ४५, रावाबेँसी गाउँपालिकाका ४१, खोटेहाङ गाउँपालिकाका २४, जन्तेढुंगा गाउँपालिकाका २३, साकेला गाउँपालिकाका १८ र केपिलासगढी गाउँपालिकाका १७ विद्यालयको नाममा बेरुजु देखिएको हो । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष ०६९–०७० देखि ०७४–०७५ सम्मको अवधिमा तत्कालिन जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय एकाइमार्फत बजेट लिएर काम गर्ने क्रममा कमजोरी गरेका विद्यालयको नाममा बेरुजु औंल्याएको हो ।

बेरुजु फस्र्योट गर्न हप्ता दिनको समय
शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयले बेरुजु बोकेका विद्यालयलाई हप्ता दिनभित्र फस्र्योट गर्न पत्राचार गरेको छ । पुस २१ गते सम्बन्धित विद्यालयलाई पत्राचार गर्दै कार्यालयले योजना सम्पन्न नभएका भए सम्पन्न गर्न र सम्पन्न भइसकेको योजनाको प्रमाणित कागजात सहित सात दिनभित्र पेश गरी बेरुजु फस्र्योट गर्न निर्देशन दिएको हो ।

योजना सञ्चालनका क्रममा महालेखाले बेरुजु औंल्याएको तथा उक्त योजनाको रकम सम्परीक्षण गर्न÷गराउनका लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट पटक–पटक ताकेता भएको भन्दै कार्यालयले फर्छ्यौटका लागि समयसीमा दिएको हो । भौतिक निर्माणसम्बन्धी बेरुजु फस्र्योट गर्नेका क्रममा सम्वन्धित योजनाको सम्झौता फारम, सम्बन्धित योजनाको नक्सा तथा अनुमानित लागत स्टिमेट, बिल भरपाइ, खर्च अनुमोदन तथा फरफारकसम्बन्धी विव्यासको निर्णय, फरफारकसम्बन्धी विद्यालयको पत्र, सम्पन्न योजनाको रंगिन फोटो, सम्पन्न योजना हाल प्रयोग भइरहेको विद्यालयको पत्र, सम्बन्धित वडाको सिफारिस पत्र पेस गर्न भनिएको छ ।

यस्तै, विज्ञान, अंग्रेजी प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनसम्बन्धी योजना फस्र्योटका लागि खरिद आदेश र दाखिला रिपोर्ट, कोटेसन, सामान खरिद गरेको बिल भरपाइ (भ्याटबिल) र १.५ प्रतिशत टिडिएस जम्मा गरेको भौचार, सामान उपलब्ध गराउने पसल वा सप्लायर्सको भ्याट दर्ता प्रमाण–पत्र र कर चुक्ता प्रमाणपत्र, विव्यासको निर्णय सहितको पत्र ९प्रस्ताव एवं खरिद आदेश बमोजिम सामान खरिद र विद्यालयमा दाखिला गरी फरफारकका लागि सम्बन्धित निकायमा पेस गर्ने निर्णय०, ल्याव व्यवस्थापन गरिसकेपछि प्रअले प्रमाणित गरेको फोटो र सम्वन्धित स्थानीय तहले फरफारकका लागि गरेको सिफारिस पेश गर्न पत्रमा भनिएको छ ।


Recommended For You