लायन्स स्थापना दिवसमा विद्यार्थीलाई झोला वितरण

अर्घाखाँची । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन्सको १४४ औँ जन्मजयन्तीको अवसरमा लायन्स क्लब अफ अर्घाखाँचीले पाणिनि वेदविद्याश्रम सन्धिखर्कमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको छ । पाणिनि वेद विद्याश्रममा अध्ययनरत ३५ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेसनल ३२५ एम का डिष्ट्रिक प्रेसिडेन्ट हरिप्रसाद भुसालले समाजसेवा नै लायन्सको परिचय रहेको बताए ।

लायन्स क्लब अफ अर्घाखाँचीका संस्थापक अध्यक्षसमेत रहेका भुसालले अर्घाखाँचीमा लायन्स अभियान गर्व गर्न लायक रहेको बताउँदै लायन्स क्लबको सक्रियता सबैका लागि सिकाइ बन्नुपर्ने बताएका थिए । कार्यक्रममा पाणिनि वेदविद्याश्रम सञ्चालक समितिका सचिव कृष्णप्रसाद भुसाल, पत्रकार श्याम घिमिरेलगायतले शुभकामना मनतव्य राख्दै संस्थाको महान् कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ अर्घाखाँचीको सदस्यका रूपमा थपिएएका मीरा थापा, सकुन्तला अधिकारी, अम्बिका श्रेष्ठ, वेदराज घिमिरे र कुशल भुसाललाई स्वागतसमेत गरिएको थियो । क्लबले अर्घाखाँची जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ४८ जना सदस्य रहेको क्लब करिब डेढ वर्षअघि स्थापना भएको हो ।

 

 


Recommended For You