भैरहवा। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको छ । गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेससहितको गठबन्धनबाट जसपा बाहिरिएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदावरी दर्ता गराएका हुन् ।
समर्थकहरूसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताको लागि र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
खाँणका प्रतिष्पर्धीहरू राप्रपाका वरिष्ठ नेता पीक बोहरासहितको उम्मेदवार छन् । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन् ।
यस्तै, प्रदेश सभातर्फ ३ ‘क’ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेश सभातर्फ ३ ‘ख’ बाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजवादी, लोसपा र जनमोर्चा छन् ।
