काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि देशभर शान्तिपूर्ण रूपमा मनोनयन पत्र दर्ता भएको बताएको छ । सूचना जारी गर्दै आयोगले देशभर मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूको संख्या सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरुष र १९१ जना महिला छन् ।
प्रदेश सभातर्फ २६०० पुरुष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जानकारी गराएको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।
सातवटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेस प्रदेशमा छन् । यस्तै, सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।
प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।
