मंगलबारबाट पोखरा महानगरपालिकाको फेवाताल सफाइ महाअभियान सुरु

पोखरा । मंगलबार पोखरा महानगरपालिकाले फेवाताल सफाइ महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्मको ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।

३३ वटै वडाको सहभागितामा ताल सफाइ अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लबलगायत सबै संस्था र महानगरबासीलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

तर, यसको संरक्षण भने हुन सकेको छैन । तालको नयाँ सीमांकन भइसकेको छ । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् ।

मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाइ सञ्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरलाई मेसिन बनाउने जिम्मा दिइसकिएको आचार्यले बताए ।


Recommended For You