प्रेस काउन्सिलले बनायो मिडिया अनुगमन सुझाब समिति

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनका लागि सुझाब समिति गठन गरेको छ । काउन्सिलले आइतबार एक विज्ञप्तिमा जारी गर्दै उक्त जानकारी दिएको हो । निर्वानलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाब समिति गठन गर्ने निर्णय गरेको हो । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गराउन सञ्चारमाध्यम र समग्र मिडिया जगतको ठूलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाब दिनेछ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले २८ असोजदेखि सञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको छ । यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले निर्वाचन केन्द्रित आचारसंहिता अनुगमन सुझाब समितिसमेत गठन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले चुनावका वेला सञ्चारकर्मीले कायम गर्नुपर्ने तटस्थता, आचारसंहिता पालनाका विषयलाई थप प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघसँग आवश्यक छलफल र सहकार्य गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि महासङ्घमा आबद्ध देशभरका सदस्यको विवरणका उपलब्ध गराउन महासङ्घमा र प्रेस परिचयपत्रको विवरणका लागि सूचना तथा प्रसारण विभागमा पत्र लेख्ने निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसपटक निर्वाचनमा काउन्सिलले वस्तुगत र विषयगत दुवै विधिमार्फत अनुगमन थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा सबैको चासो बढी हुने हुँदा निर्वाचनमा भाग लिने दल तथा उम्मेदवारलाई सञ्चारमाध्यमले कति स्थान दिए, कस्ता विषय उठान भए, आचारसंहिता पालनाको अवस्था कस्तो रह्योलगायत पक्षमा अनुगमन गर्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनका लागि काउन्सिलमा पत्रपत्रिका(छापा माध्यम), रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनका लागि बेग्लाबेग्लै ‘डेक्स’ स्थापना गरिएको छ । चुनावलाई निष्पक्ष ढंगले सफल बनाउन सञ्चार जगत्को भूमिकालाई उच्च महत्व दिर्इ सुरु भएको यो विशेष अनुगमनलाई साथ दिन र आवश्यक सुझाबका लागि काउन्सिलले संबद्ध पक्षसँग आग्रहसमेत गरेको छ ।


Recommended For You