झापा । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतार्नुभएको छ । यही कथालाई नै नाटकीरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा पहिलो समूहका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।
कदम थिएटरले गत जेठ २४ गतेदेखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’को मञ्चन गर्नका लागि पूर्वाभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए ।
रङ्गकर्मी बरालले यस कथालाई नाटकको रूपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताए । उनले २० वर्षभन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आउनुभएको छ । उनले आधा दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकको जानकारी दिए ।
